दोस्रो चरणको स्थानीय चुनावमा ६६ हजार ९ सय २३ काे उम्मेदवार

काठमाण्डौ, ६ असार । यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि ६६ हजार ९ सय २३ जनाको उम्मेदवारी परेको छ ।
दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका र नगरपालिकामा नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जिल्लाबाट प्राप्त तथ्यांकहरूलाई अन्तिम रुप दिने काम भइरको बताए । दोस्रो चरणमा १ महानगर, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको छ ।
तीन प्रदेशमा वडा संख्या २ हजार ८ सय ७४ छन्। ती स्थानमा १५ हजार ३८ जनप्रतिनिधि चुनिने छन् । नगरप्रमुख  र अध्यक्ष पदमा २ हजार ३ सय २७, उपप्रमुख र उपाध्यक्ष पदमा २ हजार ७ सय ७६, वडाध्यक्षमा १४ हजार ७६ जनाको उम्मेदवारी परेको छ । खुला सदस्यमा २२ हजार ३ सय ५०, महिला सदस्यमा ११ हजार ४ सय ५ र दलित महिला सदस्य पदमा १३ हजार ९ सय ८९ जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेश नम्बर १ मा २९ हजार १ सय ३८, प्रदेश नम्बर ५ मा २३ हजार ३ सय ३५ र प्रदेश नम्बर ७ मा १४ हजार ४ सय ५० जनाको उम्मेदवारी परेको छ । प्रदेश नम्बर १ मा एक महानगर, २ उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिकासहित १ सय ३७ स्थानीय तह छन् ।
प्रदेश नम्बर ५ मा चार उपमहानगर, ३२ नगरपालिका र ७३ गाउँपालिकासहित १ सय ९ स्थानीय तह छन् । प्रदेश नम्बर ७ मा एक उपमहानगर, ३३ नगरपालिका र ५४ गाउँपालिका सहित ८८ स्थानीय तह छन् । उपमेयर र उपाध्यक्ष पदमा महिलाको उम्मेदवारी बढी परेको छ ।
एउटै राजनीतिक दलले नगरपालिकाको प्रमुख\उपप्रमुख वा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दिंदा दुईमध्ये एउटा पदमा अनिवार्य महिलालाई उम्मेदवार बनाउनुपर्ने कानुनी प्रावधान छ । पहिलो चरणमा २८३ स्थानीय तहमा १३ हजार ५ सय ५६ पदका लागि भएको निर्वाचनमा ४९ हजार ३ सय ३७ जनाको उम्मेदवारी परेको थियो । याे खबर कान्तिपुर दैनिकमा छ ।