October 17, 2017

राष्ट्र बैंकले माैद्रिक नीतिबारे सराेकारवालासँग छलफल गर्‍याे

काठमाण्डौ, ५ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर (स्प्रेडदर) घटाउन संवैधानिक निकायबाट दबाब आएको बताएका छन् ।

सोमबार काठमाण्डौमा आयोजित आगामी आर्थिक बर्षको मौद्रिक नीतिको सुझाव संकलन कार्यक्रममा गभर्नर नेपालले राष्ट्र बैंकले आर्थिक वर्ष २०७४–७५ को मौद्रिक नीति ल्याउने बताए । राष्ट्र बैंकले अहिले ५ प्रतिशतको स्प्रेड दर तोकेको छ । अन्तरर्राष्ट्रिय स्तरमा यस्तो स्प्रेड दर ३ प्रतिशतको हाराहारीमा रहेको र नेपालमा पनि ३ देखि ४ प्रतिशतमा ल्याउन दबाब आइरहेको राष्ट्र बैंकले जानकारी दिएको छ । पछिल्लो समयको बढ्दो ब्याजदर र स्प्रेड दरलाई समेत सम्बोधन गर्ने गरी यस पटकको मौद्रिक नीति आउनेमा उनले जोड दिए ।

कार्यक्रममा बोल्ने बैंक तथा अधिकांश व्यवसायीले विपन्न वर्ग र उत्पादन मुलक क्षेत्रमा दिएको छुटलाई अहिले नै रोक लगाउने हो भने ठूलो मात्रामा लगानीयोग्य पूँजी ‘होल्ड’ हुने धारणा व्यक्त गरेका थिए । उनीहरुले पछिल्लो समय बजारमा कच्चा पदार्थको मूल्य उच्च रुपमा बढेको भन्दै घरकर्जाको ब्यवस्थालाई दोब्बरले वृद्धि गरिनुपर्ने बताएका थिए ।

साथै अहिलेको आर्थिक बृद्धिदरलाई कायम राख्न मौद्रिक नीतिले देशमा लगानीको वातावरण बनाउनु पर्ने समेत उनीहरुको माग छ ।