June 28, 2017

च्याम्पियन्स ट्रफी उत्कृष्ट टिममा पाकिस्तान र भारतबाट मात्रै ७ जना

काठमाण्डौ, ५ असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले च्याम्पियन्स ट्रफीमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी मध्येबाट ११ जना खेलडीलाई ड्रिम टिममा छनोट गरेको छ ।

च्याम्पियन्स ट्रफी क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरे वापत् क्रिकेटका विज्ञ तथा आइसिसीका प्रतिनिधिहरुले उत्कृष्ट टिम छनोट गरेका हुन् । पाकिस्तानी टिमका कप्तान सरफराज अहमदलाई कप्तानका रुपमा छानिएको टिममा पाकिस्तानका ४ र भारतका ३ गरेर यी २ देशबाट मात्रै ७ खेलाडी उत्कृष्ट टिममा परेका छन् ।

फाइनल खेलमा भारतविरुद्ध शतक बनाउने पाकिस्तानी वायाँ हाते ब्याट्सम्यान फखर जमानका साथै बलरद्वय जुनैद खान र हसन अली पनि ड्रिम टिममा अटाएका छन् । प्रतियोगितमा १३ विकेट लिएका हसन अली गोल्डेन बल पाएर ‘प्लेयर अफ द टुर्नामेन्ट’ पनि बनेका हुन् ।

यता भारतबाट वायाँ हाते ब्याट्सम्यान शिखर धवनले प्रतियोगितामा सर्वाधिक ३ सय ३८ बनाउँदै गोल्डेन ब्याटको हकदार बनेको छन् । उनका साथै कप्तान विराट कोहली र दायाँ हाते बलर भुवनेश्वर कुमार पनि यो टोलीमा परेका छन् । सन् २०१३ को च्याम्पियन्स ट्रफीमा पनि सर्वाधिक रन बनाउँदै धवनले गोल्डेन ब्याट पाएका थिए ।

उक्त टोलीमा इंग्ल्याण्डका ब्याट्सम्यान जोय रुट, अलराउण्डर बेन स्टोक्स र अदिल रसिद पर्दा बंगलादेशबाट तमिम इकवाल छानिएका छन् भने न्युजिल्याण्डबाट कप्तान केन विलियम्सन पनि परेका छन् । उत्कृट टिमका रुपमा दरिएको अष्ट्रेलियाका भने कुनै खेलाडी च्याम्पियन्स ट्रफीको ड्रिम टिममा पर्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *