October 18, 2017

मुलुक र जनताका पक्षमा कलम चलाउन पत्रकारलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाण्डौ, ५ असार । प्रधानमन्त्री शेर बहादुर देउवाले पत्रकारको शक्तिशाली कलमलाई मुलुक र जनताका पक्षमा चलाउनका लागि आग्रह गरेका छन् ।

सोमबार सिंहदरबारमा नेपाल पत्रकार महासङ्घको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् । उनले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा उभिइरहको बताउँदै पत्रकारले निष्पक्ष रुपमा कलम चलाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले देशमा सङ्घीयता सहितको संविधान आइसकेका सन्दर्भमा राजनीतिक दलहरु एकापसमा मेलमिलापको भावनासहित एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा पनि विचार व्यक्त गरे ।

महासंघले प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना व्यक्त गर्दै पत्रकारको भौतिक सुरक्षा गर्नुपर्ने लगायत माग गरेको छ । महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले सरकारी र निजी सञ्चारमाध्यममा पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्नेमा जोड पनि दिए । प्रधानमन्त्रीसँगको भेटमा महासचिव उजिर मगर, उपाध्यक्ष अनिता विन्दु लगायत सहभागी थिए ।