तत्काल माग पुुरा नगरिए थप आन्दोलन चर्काउने अस्थायी शिक्षकको चेतावनी

काठमाण्डौ, ५ असार । अस्थायी शिक्षक केन्द्रिय आन्दोलन परिचालन समितिले सरकारले विभेदकारी शिक्षक विज्ञापन तत्काल खारेज नगरे आन्दोलन थप चर्काउने चेतावनी दिएको छ ।

सोमबार अपरान्ह संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विज्ञापनबाटै विस्थापित शिक्षकलाई स्थापित गर्नुपर्ने, सेवा अवधि गणना गर्नुपर्ने लगायतका मागमा सरकारलाई गम्भीर हुन आग्रह गरेको हो । आन्दोलन समितिका अध्यक्ष हेम चौलागाँईले अस्थायी शिक्षकका नाममा सरकारले अयोग्यजस्तो शब्द प्रयोग गरेर अस्थायी शिक्षकहरूको आत्मसम्मानमाथि प्रहार गरेको आरोप लगाए ।

उनले भने, ‘हामीले पढाएका मानिस योग्य हुने, हामी कसरी अयोग्य हुने ?, साथै पाँचजना शिक्षक साथीहरू आमरण अनसनमा हुनुहुन्छ, उहाँहरुको स्वास्थ्य स्थिति दिन प्रतिदिन नाजुक बन्दै गएको छ, यसमा सरोकारवाला पक्षले समयमै ध्यान देओस् ।’

कार्यक्रममा आन्दोलन समिति सदस्य तुलाराज कठायत, शान्ति शाही हेमन्ता मिलन लगायतले आन्दोलनका बारेमा प्रकाश पारेका थिए ।