राजपालाई उपेन्द्रको चुनौती, कि आरोप पुष्टि गर कि सार्वजनिक माफी माग

महेश चौरसिया / काठमाण्डौ ५, असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा लिएर चुनावमा गएको भन्दै आफूविरुद्ध राजपा नेता मनिश सुमनले अाफरुमाथि लगाएको आरोपको प्रमाण पेश गर्न चुनौती दिएका छन् ।

अध्यक्ष यादवले आरोपको खण्डन गर्दै आरोप प्रमाणित गर्न राजपालाई कडा चुनौती दिएका हुन् । जसले यस्तो घटिया आरोप लगाएको छ, उसले आरोप पुष्टि गर्न तत्काल प्रमाण पेस गरोस्, तर प्रमाण दिन सक्दैन भने मधेशी जनतासँग सार्वजनिक रुपमा माफी मागोस्, फोरम नेपालका अध्यक्ष यादवले भने । राजपाको राजनीति दिशाहीन र औचित्यहीन भइसकेकोले दिग्भ्रमित राजपा नेताहरुले सन्तुलन गुमाएर यस्तो घटिया अभिव्यक्ति दिन थालेको यादवले टिप्पणी गरे ।

राजपा नेताहरुसँग राजनीतिक एजेन्डा नै नभएकोले अरुको चरित्र हत्या गर्ने, निराधार भ्रम सिर्जना गर्ने र बदनियतपूर्ण आरोप लगाउने जस्ता घटिया कार्यमा उत्रेको यादवले प्रतिक्रिया दिए । राजपा नेता मनिश सुमनले सोमबार रिपोर्टर्स क्लबमा बोल्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि सरकारसँग पैसा लिएर चुनावमा गएको आरोप लगाएका थिए ।