October 18, 2017

नेपालमा पनि तेश्रो अन्तर्राष्ट्रिय योग दिवस मनाइने

काठमाण्डौ, ५ असार । तेश्रो अन्तर्राष्ट्रिय योग दिवसकाे अवसरमा असार ७ गते नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ ।

अन्तर्राष्ट्रिय योग दिवस मूल आयोजक समारोह समितिले सोमबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा काठमाण्डौको भृकृटीमण्डपमा योग दिवस मनाउने जनाएको हो । योग दिवस मनाउनका लागि शिक्षामन्त्रालयले उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा अन्तर्राष्ट्रिय योग दिवस मूल आयोजक समारोह समिति गठन गरेको हो । स्वस्थ जीवनयापनका लागि योग आवश्यक रहेको जोड दिँदै नेपालमा पनि दिवस मनाउन थालिएको हो ।

पत्रकार सम्मेलनमा शिक्षामन्त्रालयका सचिव सान्ता बहादुर श्रेष्ठले असार ७ गते मनाइने योग दिवसमा सबैलाइै सहभागी हुन अपिल गरे । त्यस्तै नेपालका लागि भारतीय राजदूत मनजित सिंह पुरीले योगले मानिसलाई स्वस्थ तथा तनावरहित बनाउन मद्दत पुग्ने भएकोले योगको महत्व रहेकोमा जोड दिए ।

भारतका प्रधानममन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्र संघले स्वीकृत गरेको अन्तर्राष्ट्रिय योग दिवस हरेक बर्षको जुन २१ तरिखमा विश्वभर मनाइने गरिन्छ ।