August 23, 2017

स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सरकारकाे निर्णयप्रति एमालेको आपत्ति

काठमाण्डौ, १० वैशाख । नेकपा एमालेले स्थानीय तहको निर्वाचन वैशाख ३१ र जेठ ३१ गते गरी दुई चरणमा गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

संसद भवन नयाँ बानेश्वरमा आईतबार बसेको एमाले संसदीय दलको बैठकले दुई चरणमा चुनाव गर्ने भए दोश्रो चरणको चुनाव जेठ १५ गते अघि नै गर्नु पर्ने निष्कर्ष निकालेको हो । संविधान अनुसार जेठ १५ गते बजेट सार्वजनिक गर्नु पर्ने भएकाले बजेट अघि र बजेट पछि दुई चुनाव हुन नसक्ने र निर्वाचन आचारसंहिताले पनि त्यस्तो गर्न नदिने एमालेले जनाएको छ ।

बैठकमा एमाले अध्यक्ष केपी ओलीले जेठ ३१ मै दोस्रो चरणको चुनाव गर्ने भए संविधान संशोधन गरेर बजेट असारमा सार्वजनिक गर्नुपर्ने बताए । उनले संविधानमा चुनावलाई असहज हुने विषय भए संशोधन गर्न सकिने तर चुनावसँग नजोडिएका संविधानका विषयलाई चुनाव अघि संशोधन गर्न नसकिने बताए । बैठकमा ओलीले पटक पटक एमालेलाई बाहिर राखेर दलहरुबीच भएको छलफल मान्य नहुने धारणा राखे ।

बैठकमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग भएको छलफलका बिषयमा पनि जानकारी गराएका थिए । त्यस्तै एमालले संसदीय गतिविधिमा मर्यादापूर्वक सहभागी हुन आफ्ना सासंदहरुलाई निर्देशन दिएको छ ।