October 23, 2017

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

काठमाण्डौ, १० वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार र मधेसी मोर्चाबीच भएको सहमतिको लिखित दस्तावेज अध्ययन पछि मात्र धारणा बनाउने जनाएको छ ।

आईतबार भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा ओलीले सहमतिको लिखित दस्तावेज माग्दै त्यसपछि मात्र थप धारणा बनाउने बताएका हुन् । सत्ता पक्ष र मधेसवादी दलहरुबीच स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने र परिमार्जन सहितको संविधान संशोधन प्रस्ताव संसदमा लैजाने शनिबार राति मौखिक सहमति भएको थियो ।

प्रधानमन्त्री दाहालले मोर्चा र संघीय गठबन्धनसँग दुई चरणमा निर्वाचन गर्ने, परिमार्जन सहित संविधान संशोधन गर्ने बारेमा शनिबार भएको सहमतिको जानकारी गराएकोे अध्यक्ष ओलीले बताए । ओलीले एमाले पनि मधेसवादी दलहरुलाई चुनावमा ल्याउनु पर्छ भन्ने पक्षमै रहेकाले चुनाव दुई चरणमा गर्ने विषयमा आफूहरु तयार नै रहेको धारणा राखे ।

प्रधानमन्त्री दाहालले ओलीसँग भएको करिब २० मिनेटको भेटमा मधेसकेन्द्रित दलहरुसँग भएको सहमति, निर्वाचन तालिका परिवर्तन र परिमार्जन सहितको संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने बारे जानकारी गराएका थिए ।