गोकर्णेश्वर नगरपालिकामा रहेको ओम कृषि फार्ममा आगलागी हुँदा झण्डै एकसय गाई मरे

काठमाण्डौ, ३ असार । काठमाडौको गोकर्णेश्वर नगरपालिका एक रुप्सेटारमा रहेको ओम कृषि फार्ममा आगलागी हुँदा झण्डै एकसय गाई मरेका छन् ।

आगलागीबाट झण्डै एकसय गाई मरेका र गाई, बाच्छाबाच्छी गरेर अन्य १० वटा घाइते भएका फार्म सञ्चालकमध्येका एक तेजबहादुर पौडेलले जानकारी दिए । पौडेलका अनुसार फार्ममा ७५ वटा दुहुनो, २२ ब्याउने र बाच्छाबाच्छी गरी एक सय २३ गाई थिए । आज बिहान ११ बजेतिर अचानक आगलागी भएको हो । नेपाली सेना र प्रहरीको टोलीको सहयोगमा आगो निभाएका थिए । आगो दुई घण्टाको अवधिमा निभाइएको छ ।

आगलागीबाट १२ टन दाना, डेढ सय गाईलाई ओछ्याउने म्याट जलेका छन् । २ सय २० लम्बाई र ४० फिट चौडाई रहेको गोठ पूरै जलेको छ । विद्युत सट भई आगलागी भएको अनुमान गरिएको छ । उक्त फार्मबाट दैनिक झण्डै एक हजार लिटर दूध बिक्री हुँदै आएको थियो ।