November 18, 2017

लमजुङमा बर्खे धान रोपाईकाे चटाराे

काठमाण्डौ, ३ असार । असार लागेसँगै लमजुङमा बर्खे धान रोपाई सुरु भएको छ ।

जिल्लाका धान खेतीका लागि प्रख्यात फाँटहरु चक्रतीर्थ, भलायखर्क, धमिलीकुवा, चिती, तार्कुघाट, भोर्लेटार, सुन्दरबजार, घेर्मु फाँट, पसगाउँ, भलामखोला, खुदीखोला र ङादीखोलाको आसपासमा रोपाई भइरहेको छ । यस्तै दोर्दी गाउँपालिकाको नौथर सेरा, ढोडेनी, फलेनी लगायतका गाउँमा धान रोप्न सुरु गरिएको छ ।

कृषि विकास कार्यालयका अनुसार जिल्लाका ४५ हजार ५० हेक्टर खेतीयोग्य जमिनमध्ये १६ हजार ६ सय १२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । यसमध्ये १५ हजार ७ सय २ हेक्टर क्षेत्रफलमा बर्खे धान हुने कार्यालयले जनाएको छ ।

यहाँका किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायत उन्नत जातका साथै लोकनाथ, गोरखनाथ, यूएस ३ सय १२, मकवानपुर वर्षे तीन हजार चार, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् ।