November 19, 2017

लमजुङ बेसीशहरका स्थानीयले अाफ्नै सक्रियतामा सडक कालोपत्रे गरे

सृजना घिमिरे / लमजुङ, असार ३ । विकास निर्माणका लागि सरकारको मात्र मुख ताक्ने प्रवत्तिलाई अन्त्य गर्दै लमजुङ सदरमुकाम बेसीशहरका स्थानीयले आफ्नै लागतमा सडक कालोपत्रे गरेका छन् ।

बेसीशहर नगरपालिका वडा नं ८ का बासिन्दाले रकम संकलन गरी सडक कालोपत्रे गरेका हुन् । संकलन गरिएको २५ लाख रुपैयाँको सहयोगमा रिङरोडमा पर्ने रेडियो लमजुङदेखि विद्या विकास चोकसम्मको कुल ३ सय ८५ मिटर सडक कालोपत्रे गरिएको हो । हिउँदमा धुलाम्मे र बर्खायाममा हिलाम्मे हुने सडक पिच भएपछि हिँड्न सहज भएको स्थानीय नारायण सुँयलले बताए ।

सडक कालोपत्रेको लागि उपभोक्ताबाट २५ लाख संकलन गरिएको र बेसीशहर नगरपालिकाबाट २५ लाख प्राप्त भएको उपभोक्ता समितिका अध्यक्ष भरत पौडेलले जानकारी दिए । सडकमा घर हुनेबाट प्रतिमिटर ३ हजार र सडकदेखि ५० मिटर पछाडि घर जग्गा हुनेबाट प्रतिमिटर १ हजार ५ सयका दरले रकम उठाइएको उपभोक्ता समितिका सचिव अर्जुन अधिकारीले बताए ।

यस अघि पनि बेसीशहरको त्रिवेणी टोल, क्याम्पस रोड र सुन्दरबजारमा समेत स्थानीयले रकम संकलन गरी सडक कालोपत्रे गरेका थिए ।