कतारमा अार्थिक नाकाबन्दी : नयाँ कामदार ‘पर्ख र हेर’ को अवस्थामा

काठमाण्डौ, ३ असार । कतारको एक प्रतिष्ठित कम्पनीलाई प्रोडुन्सियल म्यानपावरले ५ सय कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुऱ्याएको थियो ।

निर्माणक्षेत्र र सुरक्षागार्ड पठाउने तयारीमा जुटेको प्रोडुन्सियलले श्रमस्वीकृति लिने कार्यलाई अन्तिममा पुगेर ‘होल्ड’ मा राखेको छ । ‘जुन कम्पनीलाई कामदार पठाउँदै थियौं उसले रमजानपछि मात्रै काम अगाडि बढाउने भनेपछि हामीले श्रमस्वीकृति लिने कार्य होल्डमा राखेका छौं,’ प्रोडुन्सियलका सञ्चालक नारायण पराजुलीले कान्तिपुरलाई भने, ‘रमजान महिना चलिरहेकोले काम सुस्त छ भन्ने सूचना मात्रै दिइएको छ ।

’ रमजान भनिएपनि कतारमा लागेको नाकाबन्दीका कारण धेरै कम्पनी ‘पर्ख र हेर’को अवस्थामा छन् । जुन ५ देखि साउदी अरबको नेतृत्वमा युएई, बहराइनसहित ९ देशले कतारसँग कूटनीतिक सम्बन्धबिच्छेद गरेको छ । साउदी, युएई र बहराइनले जल, हवाइ र स्थल यातायातसमेत रोकेर कतारलाई नाकाबन्दी गरेको छ ।

नाकाबन्दीपछि कतारमा कामदार पठाउँदै आएका दर्जनौ म्यानपावरको काम केही सुस्ताएको छ । रोजगारदाता कम्पनी विकसित घटनाक्रम हेरेर मात्रै कामदार ल्याउने सोचाइमा पुगेपछि कामदार भर्ना प्रक्रिया सुस्त भएको म्यानपावरको बुझाइ छ । ‘रोजगारदाता कम्पनी पछिल्लो कतारको अवस्थाबारे केही बताएको छैन,’ पराजुलीले भने, ‘उनीहरू पर्ख र हेरको अवस्थामा छन् कि जस्तो लाग्छ ।

’ कतारको बदलिँदो अवस्थाले वैदेशिक रोजगारीमा जान खोज्ने नेपाली कामदार पनि अन्योलमा छन् । ‘जुन २६ र जुलाई ५ तारिखका लागि अन्तर्वार्ता राखेको छु ।’  एउटै कम्पनीको लागि तीनसय कामदार पठाउँदैछु,’ ओशो रिक्रुटिङ एजेन्सीका सञ्चालक लक्ष्मण विश्वकर्माले भने,‘ ‘जान इच्छुक कामदारको मनमा अलिअलि हिचकिचावट रहेको पायाे ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।