September 23, 2017

भूकम्प पीडितलाई ट्याक्सी बुधबारदेखि वितरण गरिने

काठमाण्डौ, ३ असार । लामो समयदेखि पटक पटक सर्दै आएको भूकम्पले अति प्रभावित विभिन्न १४ वटा जिल्लाका पीडितलाई नयाँ ट्याक्सीको नम्बर बाँड्ने दिनको टुंगो लागेको छ ।

आगामी ७ असारदेखि गोला प्रथाबाट लगातार तीन दिन असार ९ गतेसम्म नयाँ ट्याक्सी पाउने पीडितहरुको नाम छनोट गरिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । गोला प्रथा प्रक्रियाद्वारा विभागले कुल १ हजार ५ सय ट्याक्सीको नम्बर वितरण गर्न लागेको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए ।

विभागका अनुसार नयाँ ट्याक्सीका लागि कुल १ लाख ४८ हजार जना पीडितको आवेदन परेको छ । विभागले भूकम्प अति प्रविभात जिल्लाबाट २०७३ साल साउन २५ गतेदेखि भदौ ५ गतेसम्म आवेदन संकलन गरेको थियो । भूकम्प अति प्रभावित जिल्लाका पीडितहरुले सरकारले जारी गरेको भूकम्पपीडित कार्डका आधारमा निवेदन दिएका थिए ।

जसमा सिन्धुपाल्चोक, गोरखा, काभ्रेपलाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, ललितपुर, काठमाण्डौ, भक्तपुर, मकवानपुर, सिन्धुली, ओखलढुंगा र रामेछापका पीडितहरु रहेका छन् । संख्यामा निवेदन परेकाले भनेकै मितिमा वितरण गर्न असहज भए पनि समस्या समाधान गरी व्यवस्थित गरेर वितरण गर्न लागिएको प्रवक्ता पाण्डेले बताए । याे खबर राजधानी दैनिकमा छ ।