Breaking News

फिफा कन्फेडेरेसन कप भोलिदेखि सुरु

काठमाण्डौ, २ असार । विश्वकप फुटबलको तयारीका रूपमा लिइने फिफा कन्फेडेरेसन कप भोलिदेखि सुरु हुँदैछ ।

दुई सातासम्म चल्ने प्रतियोगिता भोलिदेखि रसियाका विभिन्न चार स्थानमा हुन लागेको हो । आठ टिम सहभागी हुने प्रतियोगितालाई विश्वकपको तयारीका रुपमा पनि लिने गरिन्छ । प्रतियोगितामा ६ महादेशका विजेतासँगै विश्वकप विजेता र आयोजक टोली रहने छन् ।

कन्फेडेरेसन कपको यस संस्करणमा युरोप महादेशबाट तीन टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आयोजक रसिया, विश्वकप विजेता जर्मनी र पोर्चुगल युरोकप विजेताको हैसियतमा प्रतियोगितामा सहभागी हुनेछन् ।

त्यस्तै, एसियाबाट एसियन कप विजेता अष्ट्रेलिया, कोपा अमेरिका विजेता चिली र ओसियाना कप च्याम्पियन न्युजिल्याण्ड पनि सहभागी हुनेछन् । यस्तै उत्तर अमेरिकाको महादेशीय प्रतियोगिता कोन्काकाफ गोल्ड कप विजेता मेक्सिको र अफ्रिका कप अफ नेसन्स विजेता क्यामरुनले पनि कन्फेडेरेसन कपमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरी खेलाइनेछ । समूह ए मा रसिया, पोर्चुगल, मेक्सिको र न्यूजिल्याण्ड रहेका छन् । त्यस्तै, समूह बी मा जर्मनी, अष्ट्रेलिया, चिली र क्यामरुन छन् ।

प्रतियोगिताको पहिलो खेलमा भोलि रसिया र न्यूजील्याण्डबीच प्रतिस्पर्धा हुनेछ । यी दुईको खेल राति पौने नौ बजे सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ ।

 

 

shares