राजपा लगायत संघीय गठबन्धन भन्छ– ‘प्रदेश नं २ को निर्वाचन सार्ने सरकारकाे निर्णय मान्दैनौं

काठमाण्डौ, २ असार । राष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठबन्धनले प्रदेश नम्बर दुईमा स्थानीय निर्वाचन सार्ने सरकारको निर्णय मान्य नभएको प्रतिक्रिया दिएको छ ।

काठमाण्डौमा आज बसेको गठबन्धनको बैठकले सरकारले आफूसँग गरेको सम्झौता विपरीत सरकारले एकतर्फी निर्णय गरेको भन्दै प्रदेश नम्बर दुईमा निर्वाचन सार्नुको औचित्य नभएको बताएको हो । माग सम्बोधन नभएसम्म निर्वाचनमा भाग नलिने गठबन्धनले जनाएको छ । बैठकले आन्दोलनका कार्यक्रमलाई समेत निरन्तरता दिने निर्णय गरेको गठबन्धनका संयोजक महन्थ ठाकुरले जानकारी दिए ।

त्यस्तै गठबन्धनले तीनवटा प्रदेशका लागि उम्मेदारी मनोनयका दिन असार चार गते तराई बन्द आह्वान गरेको छ । राजपाका नेता अनिल झाले दोस्रो चरणको स्थानीय निर्वाचनको कडा प्रतिवाद गर्ने बताए ।