September 21, 2017

निर्वाचन लक्षित गर्दै झापामा राप्रपाद्वारा ३६ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

पकंज शर्मा / झापा, असार २ । ‘भद्रपुर शहर हाम्रो घर’ कार्यक्रम सञ्चालन गर्दै देशकै नमुना नगरपालिका बनाउने अठोटका साथ राप्रपा भद्रपुर नगर समितिले ३६ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

निर्वाचन परिचालन समितिका संयोजक अभिषेक ढुंगाना, मेयरका उम्मेदवार नवराज पनेरु र उपमेयरका उम्मेदवार राधा कार्कीले विकास, कृषि, शिक्षा, पर्यटन, सामाजिक तथा आर्थिक क्षेत्र समेटिएका ३६ बुँदे प्रतिद्धता पत्र सार्वजनिक गरेका हुन् । भष्ट्राचारविरुद्ध संकल्प लिएर चुनावी मैदानमा उत्रिएको निर्वाचन नगर परिचालन समितिका संयोजक ढुंगानले बताए ।

उक्त प्रतिबद्धता अनुसार निर्वाचित भएको एक महिना भित्र प्रत्येक परिवारको आर्थिक सर्वेक्षण गरी कमजोर परिवारबाट आर्थिक स्तर उकास्ने र सुधार कार्यक्रम सञ्चालन गरिने मेयरका उम्मेदवार पनेरुले जानकारी दिए । झापा उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका पनेरुले नगरमा विशेष आर्थिक क्षेत्र स्थापना गरी स्वदेशी र विदेशी लगानीको वातावरण बनाई एक घर एक रोजगारको व्यवस्था सुरु गरिने बताए ।

त्यस्तै सामाजिक क्षेत्रतर्फ विपन्न परिवारका आमा तथा नवजात शिशुलाई पोषणभत्ता वापत ५ हजार र जेष्ठ नागरिक भत्ता घरदैलोमा पुर्‍याउने व्यवस्था मिलाउने राप्रपाको घोषणापत्रमा उल्लेख गरिएको छ ।