September 23, 2017

दलित समुदायमाथि कुटपिट गर्नेलाई हदै सम्मको कारबाही गर्नुपर्ने राष्ट्रिय दलित आयोगको निष्कर्श

काठमाण्डौ, २ असार । राष्ट्रिय दलित आयोगले कपिलवस्तु नगरपालिका वडा नं ८ बेलौहामा दलित समुदायमाथि भएको कुटपिटमा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने जनाएको छ ।

बेलौहामा मन्दिर गएर फर्कने क्रममा स्थानीय राम परखन कोरी लगायतलाई केही व्यक्तिहरुले कुटपिट गरेपछि घटनाको सत्यतथ्य पता लगाउन आयोगले अध्ययन टोली गठन गरेको थियो । आयोगले अध्ययन टोलीको प्रतिवेदन सार्वजनिक गर्दै घटनामा दलित समुदायलाई मन्दिर छुवाछुत गरेको र कुटपिट समेत गरेको भन्दै पिडकहरुलाई विद्यमान कानुन अन्तर्गत जातीय भेदभाव तथा छुवाछुत ऐन अनुसारको हदैसम्मको कारबाही गर्नुपर्ने जनाएको हो ।

गत २०७४ वैशाख १६ गते भएको उक्त घटनाको अध्ययन गर्न जेठ ४ देखि ६ गतेसम्म अध्ययन समिति घटनास्थलमा बसेको थियो । सो क्रममा समितिले दुबै पक्षसँग छलफल समेत गरेको थियो ।