September 21, 2017

प्रजनन स्वास्थ्य सम्बन्धी ऐनको कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

काठमाण्डौ, २ असार । प्रजनन स्वास्थ्य सम्बन्धी ऐन बनाएर संवैधानिक व्यवस्थाको कार्यान्वयन जरुरी भएको सरोकारवालाहरुले बताएका छन् ।

महिला बालबालिका ज्येष्ठ नागरिक र समाज कल्याण समितिले शुक्रबार काठमाण्डौमा आयोजना गरेको प्रजनन स्वास्थ्य सम्बन्धी ऐनको आवश्यक्ता विषय छलफलमा उनीहरुले अन्तर्राष्ट्रिय अवधारणालाई समेटेर नेपालमा पनि प्रजनन स्वास्थ्य अधिकारलाई आत्म निर्णयको अघिकारको रुपमा स्थापित गर्नुपर्ने बताएका हुन् । प्रजनन स्वास्थ्य सम्बन्धी सूचना र सेवामा महिलाको पहुँच सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

उनीहरुले प्रजनन स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका साथै सबै वर्ग विषेशलाई प्रजनन स्वास्थ्य सेवा लिन पाउने अघिकारलाई थप सुनिश्चित गर्न प्रजनन स्वास्थ्य सेवा कोषको स्थापना गर्न माग गरेका छन् । कार्यक्रममा समिति सभापति रञ्जु कुमारी झाले पछिल्लो समय प्रजनन स्वास्थ्य अधिकारका बिषयका निकै बहस भए पनि स्वास्थ्य केन्द्रमा प्रजनन स्वास्थ्य उपचारमा समस्या देखिने गरेको बताइन् ।

सरोकारवालाहरुले सरकारी स्वास्थ्य संस्थाहरुमा सबै प्रकारका प्रजनन स्वास्थ्य सेवाहरु निःशुल्क हुने व्यवस्था हुनुपर्ने समेत धारणा राखेका छन् ।