August 20, 2017

दोस्रो चरणमा ३३४ स्थानीय तहमा निर्वाचन , मनोनयन २ दिन ढिला

काठमाण्डौ, २ असार । असार १४ मा प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुने भएको छ ।

प्रदेश नम्बर १ मा एक महानगर, दुई उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिकासहित १ सय ३७ स्थानीय तह छन् । त्यहाँ २६ लाख ७४ हजार ५ सय ६३ मतदाता छन् । प्रदेश नम्बर ५ मा चार उपमहानगर, ३२ नगरपालिका र ७३ गाउँपालिकासहित १ सय ९ स्थानीय तह छन्। त्यहाँ २४ लाख ५४ हजार ४ सय ८८ मतदाता छन् ।

प्रदेश नम्बर ७ मा एक उपमहानगर, ३३ नगरपालिका र ५४ गाउँपालिकासहित कुल ८८ स्थानीय तह छन्। त्यहाँ १३ लाख ३ हजार ७ सय १४ मतदाता छन्। प्रदेश नम्बर १, ५ र ७ मा ८ हजार ३ सय ६४ मतदान केन्द्र छन् ।  दोस्रो चरणको मनोनयन दुई दिन ढिला निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन असार ४ गतेलाई तोकेको छ ।

यसअघि २ गते शुक्रबारलाई तोकिएको थियो। सरकारले प्रदेश २ को चुनाव तेस्रो चरणमा गर्ने निर्णयसँगै प्रदेश नम्बर १, ५ र ७ को मनोनयनको मिति सार्न आग्रह गरेलगत्तै बिहीबार आयोगले निर्णय लिएको हो । आयोगले तयारी पूरा गरिसकेका बेला उम्मेदवारी मनोनयनको एक दिनअघि एउटा प्रदेशको चुनाव र बाँकी स्थानको मनोनयन सार्ने निर्णय गरिएको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आग्रहसहितको मन्त्रिपरिषदको निर्णय प्राप्त भएपछि आयोगले प्रदेश २ को हाल घोषित निर्वाचन कार्यक्रम स्थगित र बाँकी प्रदेशका लागि तोकिएको कार्यक्रममा संशोधन गरिएको बताए । संशोधित कार्यक्रमले उम्मेदवारले प्रचार गर्ने समयमा कटौती भएको छ ।

‘प्रचार कार्यक्रमलाई धेरै असर नगरोस् भनेरै यसअघि तोकिएको ४ दिनको निर्वाचन कार्यक्रमलाई ३ दिनमा सीमित गरिएको छ,’ उनले भने, ‘६ गते उम्मेदवारले निर्वाचन चिह्न पाएपछि प्रचारमा जुट्नेछन्, पहिला चिह्न वितरण ५ गतेलाई तोकिएको थियो।’  सरकारले राजपासँग सहमति जुटाउने नाममा चौथोपटक स्थानीय तह निर्वाचन मिति हेरफेर गरेको हो ।

देशैभर एकै चरणमा गराउने गरी वैशाख ३१ मा घोषित निर्वाचनलाई जेठ ३१ मा समेत गर्ने गरी दुई चरणमा गर्ने निर्णय गरिएको थियो। पछि दोस्रो चरणलाई असार ९ हुँदै असार १४ गते पुर्‍याइयो। अहिले फेरि एउटा प्रदेशको निर्वाचन ३ महिनापछि तेस्रो चरणमा सारिएको छ । याे खबर कान्तिपुर दैनिकमा छ ।