निर्वाचनको मिति सार्ने सरकारको प्रस्ताव अायाेगद्वारा अस्विकार , उम्मेदवारी मनोनयन दर्ता ४ गते

काठमाण्डौ, १ असार । दुई नम्बर प्रदेशको स्थानीय निर्वाचन सार्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव निर्वाचन आयोगले अस्वीकार गरेको छ ।

सिंहदरबारमा प्रधानमन्त्री देउवाले राखेको बैठकमा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले चुनाव सार्न नसकिने जवाफ दिएका हुन् । यादवले आयोग निर्वाचनका लागि तयार भएको अवस्थामा १४ गतेको निर्वाचन कुनै पनि हालतमा तल–माथि हुन नसक्ने बताएका हुन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘प्रदेश सभा र संसदको चुनाव गर्नु पर्ने संवैधानिक वाध्यतालाई ध्यानमा राखेर अब चुनाव सार्न कठिनाइ हुने बताए । बैठकमा सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताको पनि सहभागिता रहेको थियो ।

यसैबीच निर्वाचन आयोगले तीनवटा प्रदेशको चुनावको मनोनयन दर्ता यही असार ४ गते सारेको छ । आयोगले एक, पाँच र सात नम्बर प्रदेशको उम्मेदवारी दर्ता यही असार ४ गते आईतबार गर्ने निर्णय गरेको हो ।

यसअघि शुक्रबार मनोनयन दर्ता गर्ने कार्यतालिका थियो । तर, सरकारको आग्रह अनुसार मनोनयन दर्ताको मिति दुई दिन पछि सारिएको निर्वाचन आयोगले जनाएको छ ।