जेष्ठ अन्तिम साता काठमाण्डौमा उद्यमशीलता सम्मेलन हुने

काठमाण्डौ, १० वैशाख । उद्योग मन्त्रालयको आयोजनामा जेष्ठको अन्तिम साता काठमाण्डौमा उद्यमशीलता सम्बन्धी सम्मेलन हुने भएको छ ।

विशेषगरी युवा वर्गलाई लक्षित गरी उद्यमशीलता विकास गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने उद्देश्यका साथ जेष्ठको २४ र २५ गते सम्मेलन गर्न लागिएको मन्त्रालयले जनाएको छ । मुलुकभरका ७५ जिल्लाबाट तीन सय युवाहरुको सहभागिता रहने सम्मेनलमा स्रोत व्यक्तिका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सफल युवा उद्यमीहरुको सहभागिता रहने उद्योगमन्त्री नविन्द्रराज जोशीले जानकारी दिए ।

सम्मेलनको नारा ‘समृद्धिको रहर उद्यमशीलताको नयाँ प्रहर’ रहने भएको छ । कार्यक्रममा मन्त्री जोशीले राष्ट्रको आर्थिक प्रगतिका लागि उद्यमशीलता अपरिहार्य रहेको भन्दै सम्मेलन महत्वपूर्ण हुने बताए ।

उद्यमशीलताको विकासमा संलग्न सबै सरोकारवालाहरुलाई एउटै मञ्चमा समेट्न र उद्यमशीलता सम्बन्धी नीतिगत धारणामा स्पष्टता ल्याउन सम्मेलन सफल हुने विश्वास मन्त्रालयको छ ।