एमाले भन्छ– ‘संविधान संशोधन बाहेक राजपाको अन्य मागप्रति सकारात्मक छौं’

काठमाण्डौ, १ असार । प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको संख्या थपघट र चुनावअघि संविधान संशोधन बाहेकका राजपा नेपालका अन्य मागप्रति सकारात्मक रहेको जनाएको छ ।

पार्टी कार्यालय धुम्वाराहीमा आज बसेको एमाले स्थायी कमिटी बैठकले अहिले नै स्थानीय तहको संख्या थपघट, चुनावअघि संविधान संशोधन मान्य नहुने बताएको हो । आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिने, घाइतेहरूको उपचारको व्यवस्था गर्नेलगायतका माग सम्बोधन गर्न बैठकले सरकारको ध्यानाकर्षण गरेको छ । सरकारबाटै निर्वाचनका बारेमा अनिश्चय सिर्जना गर्ने अभिव्यक्तिप्रति बैठकले आपत्ति जनाएको सचिव योगेश भट्टराईले जानकारी दिए ।

बैठकले निर्वाचनको तयारी र प्रचार–प्रसारका काममा अझै एकताबद्ध रुपमा अघि बढ्न पार्टीको सिंगो पंक्तिलाई पुनः निर्देशन दिएको एमाले सचिव भट्टराईले बताए ।