September 21, 2017

कर पछ्यौट ऐन संशोधन गर्न अर्थ समितिको सरकारलाई निर्देशन

काठमाण्डौ, १ असार । सिंहदरबारमा बिहीबार बसेको संसदको अर्थ समिति बैठकले कर फर्छ्यौट ऐन संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकले मौज्युदा ऐनमार्फत बनेको कर फर्छ्यौट आयोगले दिएको कर छुट विवादित र भ्रष्टाचार उन्मुख देखिएको भन्दै ऐन नै संशोधन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले कर फर्छ्यौट ऐन समसामयिक बनाउनको लागि आवश्यक ऐन संशोधन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकले ऐन संशोधन नभएसम्मका लागि अर्काे कर फर्छ्यौट आयोग पनि गठन नगर्न दिने निर्णय गरिएको सभापति प्रकाश ज्वालाले जानकारी दिए । बैठकले आन्तरिक राजस्व विभागबाट भएका कर छुट सम्बन्धी अनुसन्धनबाट दोषी देखिएकालाई कडा कारबाही गर्दे कर असुलउपर गर्न पनि सम्बन्धीत मातहतलाई निर्देशन दिने निर्णय गरेको सभापति ज्वालाले बताए ।

बैठकमा समिति सदस्यहरुले कर फर्छ्यौट आयोगलाई धेरै नै अधिकार दिईएका कारण विकृति पैदा भएको आरोप लगाएका थिए । सांसद शेर बहादुर तामाङले करका बिषयमा ठूला साना सबैलाई बराबरको व्यवहार गर्नुपर्ने आवाज उठाउँदै दोषीलाई कारबाही गर्नुपर्ने बताए ।