September 25, 2017

संरक्षणको अभावमा मनाङको गंगापूर्णताल संकटमा

सृजना घिमिरे लमजुङ, असार १ । अन्नपूर्ण पदमार्गमा पर्ने मनाङको गंगापूर्णताल यतिबेला संरक्षणको अभावमा संकटमा पर्दै गएको छ ।

हिमनदीबाट बनेको गंगापूर्णताल बिस्तारै पुरिन थालेपनि त्यसतर्फ सरोकारवाला निकायहरुको ध्यान नपुग्दा संकटमा परेको हो । तापक्रम वृद्धिले हिमनदी तीव्र रुपमा पग्लिदै गएपछि पहाडमा हिउँ सुक्दै गएको र ताल साँघुरिदै गएको मनाङका पर्यटन व्यवसायी बिनोद गुरुङले जानकारी दिए । केही वर्षयता तापक्रमको वृद्धिले गर्दा हिउँ अधिक मात्रामा पग्लेर ताल माथिका सेता हिमाली चट्टानहरु कालोपत्रे पहाड बन्दै गएको छ ।

मनाङ भएर थोराङ्ग तथा तिलिचो जाने पर्यटकहरुलाई आकर्षण गर्ने सो ताल पछिल्लो समय संकटमा परेपछि यसलाई जोगाउन सरकारले पनि आवश्यक कदम चाल्नुपर्ने स्थानीयको माग छ । पर्यटकीय महत्व बोकेको ताल संरक्षणको लागि सरकारले कुनै पहल नगरेको स्थानीयको आक्रोश छ ।

तीन हजार ५ सय ४० मिटरको उचाइमा रहेको गंगापूर्ण ताल झन्डै २१ दशमलव ०८ हेक्टर क्षेत्रफलमा फैलिएकोे छ । यो ताल सफा भएको बेला निलो, वर्षयाममा सेतो र हिउँदयाममा हिउँ जम्ने अनौठो बिशेषता भएको ताल मानिन्छ । गंगापुर्ण सहित मनाङमा साना तथा ठूला गरी ताल, कुुण्ड तथा पोखरीको संख्या ६२ रहेको छ ।