सीके राउतद्वारा राजपासँग सहकार्यको पहल

काठमाण्डौ, १ असार । मधेसको राजनीतिक परिस्थिति अन्योलग्रस्त र राष्ट्रिय जनता पार्टी निर्वाचन बहिष्कारको अडानमा देखिँदा अलगाववादी एजेण्डा बोक्दै आएको सीके राउत समूह राजपासँग सहकार्यको तयारीमा छ ।

राउतका तर्फबाट राजपा नेता महन्थ ठाकुरलाई प्रेषित एक पत्रमा निर्वाचन बहिष्कार गर्नुको साटो त्यसलाई प्रयोग गरी ‘कालो संविधान २०७३’ सदाका लागि फ्याँक्ने रणनीतिमा लाग्न आग्रह गरिएको छ । पत्रमा राउतले ५० प्रतिशतभन्दा बढी मत अवैध घोषणा गराउने वातावरण बनाउन निर्वाचनमा जानु उपयुक्त भएको बताएका छन् ।

स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउतले जेठ २८ गते ठाकुरलाई तीन पृष्ठको तीनबुँदै सुझावसहित पत्र पठाउँदै मतपत्रमा कोष्ठबाहिर छाप लगाउँदै निर्वाचनको सक्रिय बहिष्कार गर्न आग्रह गरेका छन् । तराई/मधेसमा असार १४ गते हुने निर्वाचनलाई निषेधात्मक एवम् हिंसात्मक बहिष्कार, निष्क्रिय बहिष्कार, सक्रिय बहिष्कारको परिभाषा दिँदै संयोजक राउतेले भनेका छन्, ‘सक्रिय बहिष्कार (मतपत्र बदर) लोकतान्त्रिक ‘राइट टू रिजेक्ट’ को प्रयोग उपयुक्त विकल्प हुन्छ । याे खबर अन्नपूर्ण पोस्टमा छ ।