देउवालाई बालुवाटार सर्न ज्योतिषले किन रोके ?

काठमाण्डाै, १ असार । ज्योतिषविद्यामा विश्वास गरेका कारण नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको एक साताभन्दा बढी भईसक्दा पनि बुढानिलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन् ।

उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् । देउवाको कुण्डलीअनुसार असार ३ गतेसम्म राहु अष्टम पदमा छ । ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विघ्नबाधा आउने सुझाएपछि उनी बुढानिलकण्ठमै अड्किएका हुन् । वरिष्ठ ज्योतिष अंगीरस न्यौपानेले देउवालाई असार ३ पछि मात्र सरकारी निवास सर्न सुझाएका छन्।

‘उहाँलाई बालुवाटार सर्न जेठ २७ गते शुभ मुहुर्त थियो अब असार ४ वा ५ गते मात्रै शुभ मुहुर्त छ’ न्यौपानेले भने, ‘उहाँको कुण्डलीमा बृहस्पति भाग्य स्थानमा भएपनि आगामी असार ३ गतेसम्म राहु अष्टम पदमै रहन्छ । अष्टम पदमा राहु बस्नु भनेको शत्रु पक्ष बलियो हुनु हो ।’

उनका अनुसार असार ३ गतेसम्म जति काम गरेपनि देउवाले जस पाउने अवस्था रहँदैन । त्यसपछि भने देउवा शक्तिशाली हुने न्यौपानेले दावी गरे । यो खबर  नागरिक दैनिकमा छ।