मधेस अान्दोलनमा राष्ट्रिय झण्डा सँगसँगै

कपिलवस्तु, १ असार । मधेसकेन्द्रित दलका विगतका आन्दोलनमा पार्टीको झण्डा मात्र देखिँदै आएकामा राजपाको जारी आन्दोलनमा राष्ट्रिय झण्डालाई पनि उत्तिकै प्राथमिकता दिइएको छ ।

राजपाले बुधबार तौलिहवामा आयोजना गरेको विरोध जुलुसमा पार्टीको झण्डासँगै चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डा फहराइयो । दिनभर जुलुस र कोणसभामा पनि राष्ट्रिय झण्डा छुटाइएन । कपिलवस्तु नगरपालिकाका पूर्वनगर उपप्रमुख वासुदेवप्रसाद कसौधन राष्ट्रिय झण्डा बोकेर सहभागी थिए । ‘जुलुसमा राष्ट्रियताको भावना झल्क्यो’, एक अधिकारकर्मीले भने, ‘यसले गहिरो अर्थ राख्छ।

’ पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रौटामा पनि सडक अवरुद्ध गर्न राखिएको फलामे डण्डीमा राष्ट्रिय झण्डा टाँगिएको थियो । ठूला आकारका झण्डाले सबैको ध्यान खिचेकाे थिए । ‘राष्ट्रिय झण्डा कुनै पार्टी, व्यक्तिविशेष र सम्प्रदायको होइन, सबै नेपालीको साझा हो’, ‘पार्टीका जिल्ला संयोजक कैलाश अग्रहरिले भने, ‘राजपा देश टुक्र्याउने कुरा गर्दैन, त्यसैले अहिलेको आन्दोलनमा राष्ट्रिय झण्डाको प्रयोग गरेका हौं ।

पार्टीका सचिव रविदत्त मिश्रले  सबैको साझा भएकाले यसपालिको आन्दोलनमा राष्ट्रिय झण्डा प्रयोग गरेको बताउँछन् । ‘कांग्रेस, एमाले, र माओवादी केन्द्रको मात्र पेवा होइन राष्ट्रिय झण्डा’, उनले भने । सप्तरीको सदरमुकाम राजविराजमा पनि बुधबार राजपाको प्रदर्शनमा पार्टीको झण्डासँगै राष्ट्रिय झण्डा प्रयोग गरिएको थियो ।

राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमारसिंह यादव र सहमहासचिव गजेन्द्र मण्डलले सूर्य–चन्द्र अंकित राष्ट्रिय झण्डा बोकेका थिए । कार्यकर्तामध्ये कतिपयले पार्टीको र कतिपयले राष्ट्रिय झण्डा बोकेका थिए । याे खबर कान्तिपुर दैनिकमा छ ।