September 25, 2017

इङ्लिस प्रिमियर लिग फुटबलको आगामी संस्करण साउन २८ गते सुरु

काठमाण्डौ, ३१ जेठ । इङ्लिस प्रिमियर लिग फुटबलको आगामी संस्करण साउन २८ गते सुरु हुने भएको छ ।

आज सार्वजनिक गरिएको खेल तालिकाअनुसार २६ औं संस्करणको लिग आगामी साउनदेखि हुन लागेको हो । प्रिमियर लिग २०१७ २०१८ को पहिलो खेलमा यो सिजनको विजेता चेल्सी र बर्नलीबीच प्रतिस्पर्धा हुनेछ । चेल्सी र बर्नलीबीचको खेल चेल्सीको घरेलु मैदानमा हुनेछ । न्युक्यासल, ब्राइटन र हडर्सफिल्ड आगामी सिजनको प्रिपियर लिगमा बढुवा भएका छन् ।

त्यस्तै, हलसिटी, मिडल्सब्रो र सन्डरल्याण्ड रेलिगेशनमा पर्दै घटुवा भएका छन् । प्रतियोगितामा पुराना टोलीहरु चेल्सी, टोटनह्याम, म्यानचेष्टर सिटी, लिभरपुल, आर्सनल, म्यानचेष्टर युनाइटेड रहनेछन् । यस्तै क्रिष्टल प्यालेस, बर्नली, बर्नमाउथ, एभर्टन, लेसटर सिटी, साउथह्यामप्टन, स्टोक सिटी, स्वान्सी सिटी, वाट्फोर्ड, वेष्ट ह्याम र वेष्ट ब्रोम पनि लिगमा यथावत् छन् ।

आगामी सिजनको अन्तिम खेल सन् २ हजार १८ को मे १३ मा हुनेछ । यो गएको सिजनभन्दा एक साता अघि हो । गत सिजनमा चेल्सी ३८ खेलबाट सर्वाधिक ९३ अंक जोड्दै च्याम्पियन बन्न सफल भएको थियो ।