गैर आवासीय नेपाली सङ्घ थाइल्याण्डद्वारा नागरिक छात्रवृत्ति कोषको सुरुवात

काठमाण्डौ, ३१ जेठ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) थाइल्यान्ड तथा नेपाली विद्यार्थीका लागि प्राविधिक अनुभव आदानप्रदान अन्तर्राष्ट्रिय एसोसिएसन थाइल्यान्डले नागरिक छात्रवृत्ति कोषको सुरुवात गरेको छ ।

गैर–आवासीय नेपाली संघ–थाइल्याण्डका अध्यक्ष खगेन्द्र राज ढकालले उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको उपस्थितिमा उक्त कोषका लागि ३५ लाख ८९ हजार ९ सय ९९ रुपैयाँ बराबरको चेक नागरिक अभियान नामक संस्थालाई हस्तान्तरण गरे । अक्षय कोषले लामो समयसम्म पिछाडिएका बालबालिकालाई सहयोग गर्न नागरिक अभियान संस्थाले यसलाई सञ्चालन गर्ने जनाइएको छ ।

यस कोषले प्रत्येक वर्ष ८० जना नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने र पहिलो पाँच वर्षका लागि भूकम्प प्रभावित विद्यार्थीहरूलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । कार्यक्रममा उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठले गैरआवासीय नेपाली सङ्घजस्ता सहयोगी संस्थाले गर्ने आर्थिक सहयोगबाट नेपाली विद्यार्थीको अध्ययनको स्तर तथा प्राविधिक अनुभव वृद्घि गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थराज खनियाले भूकम्पबाट प्रभावित नेपाली जनताको उद्धारका लागि गैरआवासीय नेपाली सङ्घले गरेको सेवा सह्रानीय भएको बताए ।