October 24, 2017

अन्योलमा असार १४ को चुनाव

काठमाण्डौ, ३१ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल चुनाव बिथोल्नेगरी आन्दोलनमा उत्रिएपछि असार १४ मै निर्वाचन गराउने कि सार्ने भन्नेमा सत्तारुढ दलहरू द्विविधामा परेका छन् ।

राजपा चुनावमा आउने लिखित सहमति गर्न तयार हुने हो भने निर्वाचनको मिति हेरफेरमा लचिलो हुनसक्ने संकेत सत्तारुढ दलहरूले गरेका छन् । सत्तारुढ प्रमुख दल कांग्रेसका मधेसी नेताहरूले स्थिति असहज हुने विश्लेषण गर्न थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्य राजनीतिक दलहरूको मनस्थिति बुझ्न मंगलबार साँझ सिंहदरबारमा बैठक राखेका थिए ।

त्यहाँ चुनाव सार्ने औपचारिक प्रस्ताव कसैले राखेन । तर कांग्रेसको नेता तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिले तराई–मधेसमा स्थिति केही बिग्रिन थालेको जानकारी गराएका थिए । सिंहदरबारको बैठकअघि मंगलबार नै बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा निधि र केन्द्रीय सदस्य रमेश रिजाललगायत नेताहरूले मुठभेड निम्त्याएर चुनावमा जान नहुने धारणा राखेका थिए ।

प्रतिपक्षी दल एमालेले भने कुनै हालतमा चुनाव रोक्न नहुने धारणा अघि सारको छ । सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सत्तारुढ दलहरूले घुमाउरो पारामा चुनाव सार्ने दिशामा देखिएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए । ‘भन्न खोज्ने तर भन्न नसकेको जस्तो देखियो’, बैठकपछि अध्यक्ष ओलीले भने, ‘चुनाव सार्न खाजेको हो कि नगराउन खोजेको हो ।

यसका लागि के बहाना हुनसक्छ भनेर खोजिरहेजस्तो देखियो। चुनावबाट भाग्न खोज्दै हुनुहुन्छ कि जस्तो पनि छ ।’  सत्ता गठबन्धन र प्रतिपक्षीसहित चार दलले बुधबार एक पटक राजपासँग छलफल र्ने निर्णय गरेका छन् । त्यो बैठकमा राजपाका नेताहरूलाई असार १४ गतेकै लागि मनाउन कोशिश गर्ने नेताहरूले जनाएका छन् । याे खबर कान्तिपुर दैनिकमा छ ।