September 21, 2017

गृहमन्त्री शर्माको निर्देशनमा जेब्रा क्रसिङको जरिवाना हट्यो

काठमाण्डौ, ३१ जेठ । नेपाल प्रहरीको उपत्यका ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि जेब्रा क्रसिङ र आकाशे पुलबाट बाटो नकाट्ने पैदलयात्रीबाट २ सय रुपैयाँ जरिवाना असुल्न बन्द गरेको छ ।

गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा उपत्यका ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट बाटो नकाट्ने पैदलयात्रीबाट २ सय रुपैयाँ जरिवाना असुल्न बन्द गरेको हो । शर्माले सडकका आवश्यक सबै ठाउँमा जेब्रा क्रसिङलगायत भौतिक पूर्वाधार निर्माण नभएकाले तत्कालका लागि जरिवाना नअसुल्न उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी मिङमार लामालाई निर्देशन दिएका हुन् ।

जेठ १६ देखि ट्राफिक प्रहरीले जेब्रा क्रसिङबाट  र आकाशेपुलबाट बाटो नकाट्ने पैदलयात्रीलाई जरिवाना स्वरुप २ सय रुपैयाँ र पैसा नहुनेलाई ३ घण्टा सचेतना शिक्षा दिने अभियान सुरु गरेको थियो । याे खबर कान्तिपुर दैनिकमा छ ।