August 19, 2017

विप्लव नेकपा र मधेसी माेर्चाका कार्यकर्ताबीच वीरगञ्जमा झडप

राम कुशवाहा / वीरगंज  ९ वैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच आज दिउसो वीरगंजको घण्टाघर चोकमा झडप भएको छ ।

निर्वाचनको विरोध गर्दै नाराजुलुस सहित प्रदर्शनमा उत्रिएका नेकपाका कार्यकर्ता र मधेशी मोर्चाका कार्यकर्ताहरुबीच घण्टाघर चोकमा भेट भएपछि मोर्चाका कार्यकर्ताहरुले नेकपाका कार्यकर्ताको झण्डा खोसेर जलाउन खोजेपछि झडप भएको हो ।

आक्रोशित मोर्चाका कार्यकर्ताहरुले नेकपाकाे कार्यक्रमको जानकारी नहुदा सो घटना भएको बताएका छन् । प्रहरीले बल प्रयोग गरि स्थिती नियन्त्रणमा लिएपछि ग्रामिण क्षेत्रबाट आएका नेकपाका कार्यकर्ताहरु आमसभा स्थल ठाकुरराम वहुमुखी क्याम्पस तर्फ लागेका थिए ।
यसअघि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज वीरगंजमा कोणसभा सम्पन्न गरेको छ । घण्टाघरमा आयोजित सभालाई मोर्चाका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको भएपनि काठमाण्डौमा सरकार र मोर्चाबीच वार्ता भएकोले शिर्ष नेताहरु अनुपस्थित भएपछि जिल्लाका नेताहरुले सम्बोधन गरेका छन् ।

सभामा मोर्चाका नेताहरु प्रदिप यादव, सलाउदिन अहम्मद, करिमा वेगम, प्रेमबाबु पटेल, रामनरेश यादव, रन्जन मिश्रा, भिम यादव, कृष्ण पटेल, लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले मधेशी मोर्चाको माग सम्बोधन हुने गरि संविधान संशोधन नभए स्थानिय तहको निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । यसअघि मधेसी मोर्चाले आज वीरगन्जमा विरोध प्रदर्शन गरेको थियो । वीरगन्जको मुर्ली चोकबाट निकालिएको विरोध र्यालीले नगरको विभिन्न भागको परिक्रमा गर्दै घण्टाघर चोकमा पुगि कोणसभामा परिणत भएको थियो ।