September 26, 2017

हत्यारालाई अदालतले रिहाई गरेको भन्दै दोलखाका पीडित परिवारको आपत्ति

काठमाण्डौ, ३० जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनका क्रममा वैशाख २६ गते दोखलामा मारिएका कुल बहादुर तामाङ्का हत्यारालाई अदालतले रिहाई गरेको भन्दै पीडित परिवारले आपत्ति जनाएको छ ।

मंगलबार काठमाण्डौमा पीडित परिवारले पत्रकार सम्मेलन गरेर अपराधमा संलग्न अभियुक्तहरुलाई तारेखमा छाड्ने आदेश गरेको विषयलाई लिएर पीडित परिवार आक्रोशित मात्रै नभएर मर्माहत बनेको जनाएको हो ।

कुलबहादुर तामाङका बाबु गोरे तामाङले जिल्ला अदालत दोलखाका न्यायाधीश लालकाजी श्रेष्ठको ईजलासले कर्तव्य ज्यानजस्तो जघन्य अपराधमा संलग्न अभियुक्तहरुलाई साधारण तारेखमा छाड्ने आदेश गरेकोमा अत्यन्तै मर्माहत भएको गुनासो पोखे ।

त्यस्तै मृतक तामाङकी श्रीमती साङमाया तामाङले अहिले आफूहरु बासस्थान नै फर्कन नसकेको गुनासो गरिन् । कार्यक्रममा मृतकका छोरी संगीता तामाङ, छोरा अशोक तामाङ, भाईहरू कर्ण र जीवन तामाङले हत्यामा संलग्न जो कोहीलाई कडा कारबाही गरिनुपर्ने बताएका छन् ।