Breaking News

बजार अनुगमन तीव्र रुपमा अघि बढाइँदै

काठमाण्डौ, २९ जेठ । आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हीत संरक्षण विभागले बजार अनुगमनको कामलाई विभागले तीव्र गतिमा अघि बढाएको जनाएको छ ।

विभागले सोमबार पत्रकार सम्मेलन गर्दै अनुगमनको क्रममा दोषी भेटिएका केहीलाई भने कारबाही प्रक्रिया अघि बढाइएको पनि जनाएको छ । विभागले हालसम्म ४५ वटा मासु पसल, वधशालाको अनुगमन गरेको पनि उल्लेख गरेको छ । त्यसैगरी २ सय ४७ वटा यातायातका साधनको समेत अनुगमन गरिएको छ । एक सातायता काठमाण्डौ उपत्यका भित्रको बजार अनुगमनको कामलाई तीव्रता दिइएको विभागले मंगलबारदेखि स्वास्थ्य क्षेत्र, फलफूल र तरकारी बजारको अनुगमनलाई पनि तीव्रता दिने योजना बनाएको छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अनुगमनका क्रममा मासु पसलहरुले गुणस्तरहीन मासु बिक्री गरेर उपभोक्ताहरुको स्वास्थ्यमाथि खेलबाड गरेको उल्लेख गर्दै त्यस्ता मासु पसलहरुको पहिचान गरी कारोबार रोक्का गर्ने लगायतका कारबाही प्रक्रिया अघि बढाइएको बताए । विभागले जनताका दैनिक आपूर्तिका साधनहरुमा विशेष जोड दिएर अनुगमनको कामलाई तीव्रता दिएको हो । जस अनुसार हालसम्म ४ सय ५३ वटा ठाउँमा अनुगमन गरिएको विभागको भनाई छ ।

shares