Breaking News

काठमाण्डौ घुस लेनदेनको केन्द्र, दोस्रोमा बाँके

काठमाण्डौ, २९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रंगेहात समातिनेको विवरण सार्वजनिक गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दे अख्तियारले सबैभन्दा धेरै कर्मचारीहरु काठमाण्डौ उपत्यकाबाट घुससहित रंगेहात पक्राउ परेको जनाएको हो । त्यस्तै बाँके जिल्ला दोस्रो स्थानमा परेको छ । काठमाण्डौबाट १९, ललितपुरबाट ३ र भक्तपुरबाट २ जना गरी उपत्यकाबाट जम्मा २४ जनालाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । बाँकेबाट ५ जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । घुस लेनदेनको समस्या भने देशभरी नै रहेको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबैभन्दा धेरै कर्मचारीहरुलाई नापी कार्यालयबाट घुससहित रंगेहात पक्राउ गरेको छ । चालु आर्थिक वर्षको जेठ २८ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै नायब सुब्बा तहका कर्मचारी पक्राउ परेको अख्तियार प्रवक्ता सहसचिव जीवराज कोईरालाले जानकारी दिए ।

अख्तियारले चालु आर्थिक वर्षको जेठ २८ गतेभित्र ७६ जनालाई रंगेहात घुससहित पक्राउ गरेको छ । घुस दिने व्यक्ति २ जनामात्रै पक्राउ पर्दा सबैभन्दा धेरै ३४ जना नायब सुब्बालाई अख्तियारले पक्राउ गरेको छ ।

shares