पर्सामा निर्वाचन प्रशिक्षण कार्यक्रम विरुद्ध राजपाको प्रदर्शन

काठमाण्डौ, २९ जेठ राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन बहिष्कार सहित आम हड्तालका कार्यक्रम घोषणा गरेसँगै पर्साका विभिन्न स्थानहरुमा प्रदर्शन भएको छ ।

अषाढ १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय पर्साले श्रीपूरस्थीत श्रीपूर नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा आयोजना गर्न लागेको मतदान सम्बन्धी २ दिने प्रशिक्षण कार्यक्रममा राजपाका कार्यकर्ताहरुले अवरोध गरेका छन् । कार्यक्रम स्थलमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले टायर बालेर प्रर्दशन गरेका छन् । प्रर्दशनको क्रममा प्रहरी संग सामान्य झडप समेत भएको थियो ।

उनीहरुले निर्वाचन प्रशिक्षणमा सहभागी हुन आएका मतदान अधिकृत र सहायक अधिकृतहरुलाई कार्यक्रम स्थलमा प्रवेश गर्न नदिई उनीहरुको जीउमा हिलो छ्यापी दिएका थिए ।