Breaking News

कार्यालय र कर्मचारी स्थानीय तहमा मर्ज हुने

काठमाण्डौ, २९ जेठ । सरकारले विभिन्न सरकारी कार्यालय र कर्मचारीलाई स्थानीय तहमा शाखाका रूपमा मर्ज गर्ने गृहकार्य थालेको छ ।

स्थानीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापनसम्बन्धी आदेश, २०७४ जारी गर्दै सरकारले सरकारी कार्यालयका कर्मचारी स्थानीय तहमा मर्ज प्रक्रिया सुरु गरेको हो । विभिन्न मन्त्रालयअन्तर्गत रहेका कर्मचारीलाई विषयगत रूपमै स्थानीय तहमा खटाउने कार्य थालिएकाले अब जिल्लामा रहेका सरकारी कार्यालय पनि स्थानीय तहमै मर्ज हुने भएका छन् । सरकारले शिक्षा मन्त्रालय र मातहतका जिल्ला शिक्षा कार्यालयबाट मर्जर सुरु गरेको छ ।

अब जिल्लामा रहेका जिल्ला शिक्षा कार्यालयको साटो स्थानीय तहमै शिक्षा शाखा स्थापना गरी कर्मचारी खटाइने भएको छ । मुख्यसचिव डा. सोमलाल सुवेदीको अध्यक्षतामा शिक्षा मन्त्रालयका सचिव तथा सरोकारवाला निकायका प्रमुखको सहभागितामा शुक्रबार बसेको बैठकले शिक्षा मन्त्रालयले महानगरपालिका, नगरपालिका र गाउँपालिकामा तत्काल कर्मचारी खटाएर स्थानीय तहबाटै शिक्षासम्बन्धी काम गर्ने निर्णय गरेको छ ।  याे खबर  नयाँ पत्रिका दैनिकमा  छ ।

shares