निर्वाचन कुनै पनि हालतमा सर्दैनः प्रमुख आयुक्त यादव

काठमाण्डौ, २८ जेठ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले दोस्रो चरणको स्थानीय तह निर्वाचन कुनै पनि हालतमा नसर्ने बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालय सप्तरीले राजविराजमा आज गरेको कार्यक्रममा प्रमुख आयुक्त यादवले मतपत्र लगायतका अत्यावश्यक सामग्री गाउँगाउँमा पुगि सकेकाले निर्वाचन सर्ने सम्भावना नरहेको बताएका हुन् । उनले वर्षाको समयमा निर्वाचन हुन लागेकाले मतपत्र लगायतका सामग्री सुरक्षाका लागि व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

कार्यक्रममा सहभागी हुन गृह जिल्ला सप्तरी आएका प्रमुख आयुक्त यादवलाई राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले राजविराजमा कालोझण्डा देखाएका थिए । सरकारले मधेशको माग सम्बोधन नगरी निर्वाचन गर्न लागेको विरोधमा पार्टीका कार्यकर्ताले यादवलाई कालो झण्डा देखाएर विरोध गरेका हुन् । कार्यक्रम सकिए लगत्तै राजपाका कार्यकर्ताले नाराजुलुस समेत गरेका थिए ।