स्वास्थ्य क्षेत्रमा नीतिगत भ्रष्ट्राचार मौलाएको स्वास्थ्य व्यवसायी संघको आरोप

काठमाण्डौ, ९ वैशाख । नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघले स्वास्थ्य क्षेत्रमा नीतिगत भ्रष्ट्राचार मौलाउँदा पनि सरकार चुप लागेर बसेको आरोप लगाएको छ ।

शनिबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष नवराज वस्नेतले नेपाली स्वास्थ्य क्षेत्रमा अनियमितता र भ्रष्टाचारले जरो गाडेको र त्यसमा उपल्ला निकायले नै वैधानिक रुपबाटै त्यसलाई समर्थन गर्दै आएको आरोप लगाएका हुन् । उनले विभिन्न स्वास्थ्य केन्द्रमा आवश्यक भन्दा अनावश्यक सामग्रीको खरिद बिक्रि गर्ने गरिएको र विभिन्न बहानामा ठूलो रकम सजिलै विचलन गर्ने गरेको बताए ।

संघद्वारा जारी विज्ञप्तिमा विविध समस्याहरुबारे राज्यमन्त्री लगायत सारोकारवाला पक्षहरुसँग छलफल गर्दा पनि कोही कसैले पनि चासो नदिएको मन्त्री गगन थापाले पनि बेवास्ता गर्नुले आफूहरु निकै निराश भएर पत्रकार सम्मेलन गर्नु परेको जनाइएको छ ।

त्यस्तै संघले अहिले सरकारले जनतालाई भन्दा माफियालाई फाईदा हुने किसिमको खरिद ऐन ल्याएको प्रति आपत्ति जनाएको छ ।