Breaking News

मेलम्चीको ट्यांकी र पाइपमा सेन्सर राखिने

काठमाण्डौ,२७ जेठ ।  मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा सुपरभाइजरी कन्ट्रोल डाटा एक्युजन (स्काडा) प्रणाली जडान गरिने भएको छ ।

स्काडा जडानपछि पानीको चुहावट, गुणस्तर र बहाव मापन कम्प्युटरबाटै नियन्त्रण गर्न सकिनेछ । उपत्यकामा वितरित पानीको विवरण विश्लेषण ‘मास्टर कन्ट्रोल रुम’बाट हुनेछ । सोही आधारमा पानीमाथि नियन्त्रण र निरीक्षण गरिनेछ । मेलम्ची खानेपानी कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार जडान गर्न लागिएको यो प्रणाली नेपालमै पहिलोपटक हो । पहिलो चरणमा यो प्रणाली थोक वितरण प्रणाली (बिडिएस)अन्तर्गत बिछ्याइएका पाइपमा कार्यान्वयन गरिनेछ ।

उपत्यकामा यस प्रणालीअन्तर्गत ७७ किलोमिटर पाइप बिछ्याइएका छन् । ६४ करोडको लागतमा स्काडा प्रणाली जडान पिआइडीका प्रवक्ता तथा वरिष्ठ इन्जिनियर लीलाप्रसाद ढकालले यो प्रणाली सेट भएपछि वितरित पानीको सम्पूर्ण विवरण एउटै कोठामा संकलन हुने र आइपर्ने समस्या कन्ट्रोल रुमबाटै समाधान गरिने जानकारी दिए । ‘स्काडा प्रणाली नेपालमै पहिलोपटक जडान हुन लागेको हो । यो अत्याधुनिक प्रविधि हो । यसले पाइप र पाइपमा वितरित पानीको सम्पूर्ण विवरण कन्ट्रोल रुममा पठाउनेछ ।

त्यसबाट आवश्यक अपरेसन कोठाबाटै हुनेछ,’ उनले भने । पिआइडीका अनुसार स्काडा प्रणाली ६४ करोड २० लाख रुपैयाँ खर्चमा जडान गर्न लागिएको हो । यसका लागि पिआइडीले आउने साताभित्र टेन्डर आह्वान हुनेछ । अबको तीन वर्षभित्र प्रणाली जडान गरिसक्ने पिआइडीको योजना छ । कन्ट्रोल रुम भने महाराजगन्जस्थित पानी ट्यांकीमा राखिनेछ । ‘करिब ६ मिलिनयन अमेरिकी डलरको लागतमा यो प्रणाली जडान गरिँदै छ ।

यसका लागि १५ जुनभित्र टेन्डर आह्वान हुनेछ । काम सक्न तीन वर्ष लाग्नेछ,’ उनले भने । यसरी काम गर्छ स्काडाले  पिआइडीका अनुसार वितरण गरिएका सबै खानेपानी पाइप र ट्यांकीमा ‘सेन्सर’ जडान गरिनेछ । जडित सेन्सरको सम्बन्ध ‘मास्टर कन्ट्रोल रुम’मा हुनेछ । सेन्सरले पानीको सबै विवरण कन्ट्रोल रुमलाई दिनेछ । त्यसले पानीको बहाव, लिकेज र गुुणस्तर मापन गर्नेछ । पिआइडीका अनुसार सेन्सरले ट्यांकीमा पानी भए नभएको सूचना दिनेछ ।

ट्यांकीमा पानी छैन भने कन्ट्रोल रुममै स्विच दबाएर भर्नेछ । ट्यांकी ओभरफ्लो हुन लागे पनि कन्ट्रोल रुममै बसेर पानी बन्द गर्न सकिनेछ। ‘सेन्सरले पानीको सबै सूचना कन्ट्रोल रुमलाई दिन्छ । कन्ट्रोल रुमबाटै वितरित सबै पानी नियन्त्रण गर्न सकिनेछ, हाम्रो काम भनेको बटम थिच्ने मात्रै हो,’ प्रवक्ता ढकालले भने । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।

shares