August 20, 2017

मधेसवादी दल: कोही चुनाव जित्ने रणनीतिमा, कोही बिथोल्ने तयारीमा

काठमाण्डौ,२७ जेठ । मधेसवादी प्रमुख तीन दल अहिले कोही स्थानीय तहको उम्मेदवार छान्दै छन् भने कोही निर्वाचन बिथोल्ने योजना बुनिरहेका छन् ।

नेपाल लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरम नेपाल दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्नमा व्यस्त छ । तर अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गाउँ–गाउँ एवं बुथहरूमा निर्वाचन बिथोल्न समिति गठन गर्दै सशक्त आन्दोलनको तयारीमा जुटेको छ । १४ असारमा प्रदेश नम्बर १, २, ५ र ७ मा हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि फोरम लोकतान्त्रिक र फोरम नेपालका नेताहरू उम्मेदवार छनोट गर्नमा व्यस्त छन् ।

पहिलो चरणको निर्वाचनमा सहभागी यी दुवै दल दोस्रो चरणको निर्वाचनमा पनि सहभागी हुने र निर्वाचनमा विजयी हुनका लागि गठबन्धन नै निर्माण गरेर निर्वाचन लड्ने तयारी गरिरहेका छन् । लोकतान्त्रिक फोरमका महासचिव भारतेन्दु कुमार मल्लिकले उम्मेदवार छान्न जिल्ला जिल्लामा पार्टीले केन्द्रीय प्रतिनिधि तोकेर पठाइसकेको बताए । वीरगन्ज, विराटनगर, कलैया, जनकपुरलगायतका केही महत्वपूर्ण ठाउँबाहेक सबै ठाउँमा उम्मेदवार छनोट भइसकेको र शनिबारसम्ममा सबै ठाउँमा उम्मेदवार छनोट गरिसक्ने बताए ।

‘हाम्रो उम्मेदवार छनोट गर्ने काम अन्तिम चरणमा पुगेको छ, जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेका छौं,’ मल्लिकले भने, ‘निर्वाचनमा अधिकतम उपलब्धि र आवश्यकताका आधारमा गठबन्धन निर्माण गरेरै निर्वाचनमा सहभागी हुन्छौं ।’ चुनावी गठबन्धन निर्माणका लागि जिल्ला समितिहरूलाई नै अधिकार दिएको उनले बताए । फोरम नेपालसहितका दलसँग गठबन्धन निर्माण हुन सक्ने उनको भनाइ रहको छ । सम्बन्धित गाउँपालिका र नगरपालिकाको सिफारिसमा जिल्ला समितिले प्रमुख र उपप्रमुखको टुंगो लगाउने अधिकार फोरम लोकतान्त्रिकले दिएको छ ।

उसले वडा अध्यक्ष र सदस्यको उम्मेदवार सम्बन्धित वडा समितिको सिफारिसमा माथिल्लो समितिले अनुमोदन गरेपछि उम्मेदवारको टुंगो लाग्ने मापदण्डको व्यवस्था गरेको छ उता, संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारणलगायतका माग थाती राख्दै लोकतान्त्रिक फोरम र फोरम नेपालले निर्वाचन जित्ने रणनीतिका साथ अगाडि बढिरहँदा राजपा नेपाल भने आन्दोलन बिथोल्ने रणनीतिमा लागेको छ ।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन, जनसंख्याका आधारमा मधेसमा स्थानीय तहको संख्या निर्धारण, झुठा मुद्दा फिर्ता, शहीद परिवारलाई क्षतिपूर्तिलगायतका माग पूरा नभएकाले आन्दोलनको विकल्प नभएको बताए । निर्वाचन बिथोल्ने गरी सशक्त आन्दोलनको तयारीका लागि राजपाले अहिले मधेसका गाउँगाउँ एवं बुथहरूमा आन्दोलन परिचालन समिति गठन गर्दै प्रशिक्षण दिइरहेको छ । महतोले तीन दल जनताको माग पूरा नगरी जबर्जस्ती निर्वाचन गरेर द्वन्द्वलाई निम्ता दिइरहेको आरोप लगाए ।

२० वर्षसम्ममा नभएको निर्वाचन जनताको माग पूरा गरेर एक दुई महिनापछि गर्दा समस्याको समाधान हुने सुझाव दिँदै उनले प्रमुख दल नै देशलाई बर्बाद गर्ने दिशामा लागेको आरोप लगाए । ‘जनताको माग पूरा नभएकाले मधेसमा निर्वाचन हुन सक्दैन, मधेसी जनताले आफ्नो माग पूरा नगरी हुने निर्वाचन स्वीकार गर्ने पक्षमा छैनन्,’ महतोले भने, ‘जनताको समस्या समाधान नगरी यहाँ निर्वाचन कसैले गराउन सक्दैन, हामी हुन दिन्नौं । याे खबर राजधानी दैनिकमा छ ।