एन्फा च्याम्पियन्स लिग फुटबलको उपाधि ताप्लेजुङलाई

काठमाण्डौ, २६ जेठ । एन्फा च्याम्पियन्स लिग फुटबलको उपाधि ताप्लेजुङ जिल्ला फुटबल क्लबले जितेको छ ।

पाल्पामा सम्पन्न भएको च्याम्पियन्स लिगमा ताप्लेजुङले रौतहट महिला टिमलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । ताप्लेजुङका लागि भुजुंगा राईले खेलको २३ औं र ५५ औं मिनेटमा गोल गरेकी हुन् ।

महिला फुटबलको विकासका लागि एन्फाले उक्त प्रतियोगिता गरेको बताएको छ । प्रतियोगिताको विजेता ताप्लेजुङले ३ लाख नगद प्राप्त गर्‍यो भने उपविजेता रौतहटले एक लाख ५० हजार प्राप्त गर्‍यो ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर ताप्लेजुङकी लीला लामगाडो, उत्कृष्ट डिफेण्डर ताप्लेजुङ्गकी गीता राना, उत्कृष्ट मिडफिल्डर ताप्लेजुङकी अनिता बस्नेत, उत्कृष्ट फरवार्ड रौतहटकी रश्मि कुमारी घिसिङ तथा उत्कृष्ट प्रशिक्षक ताप्लेजुङका देवकुमार मादेन भएका छन् ।

उत्कृष्ट सबैले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । जेठ १६ देखि पाल्पा र स्याङ्जामा सञ्चालित खेलमा २८ टिमको सहभागिता रहेको थियो ।