August 21, 2017

निर्वाचनमा काङ्ग्रेस पार्टी पहिलो हुने शीर्ष नेताहरुको दाबी

काठमाण्डौ, ९ वैशाख । नेपाली काँङ्ग्रेसका शीर्ष नेताहरुले स्थानीय निकायको निर्वाचनमा पनि आफ्नो पार्टीले अग्रस्थान प्राप्त गर्ने बताएका छन् ।

अखण्ड नेपाल पार्टी समानान्तरका नेताहरु काँङ्ग्रेसमा प्रवेश गर्ने कार्यक्रमलाई शनिबार पार्टी मुख्यालय सानेपामा सम्बोधन गर्दै शीर्ष नेताहरुले संविधानसभा निर्वाचनमा प्राप्त गरेको जनविश्वास पुनः आसन्न स्थानीय निकायको निर्वाचनमा प्राप्त गर्ने दाबी समेत गरे ।

सभापति शेरबहादुर देउवाले काँङ्ग्रेस जनताको विश्वास जितिसकेको पार्टीको रुपमा स्थापित भएको चर्चा गर्दै विपन्न जनताको आर्थिक एवम् सामाजिक जीवनलाई माथि उठाउन काँङ्ग्रेसको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न स्थानीय निकायको निर्वाचनमा तराई– मधेसवादी दलको सहभागिता गराउन पार्टीले अन्तिम प्रयास जारी राखेको बताए ।

कार्यक्रममा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक पाण्डे सहित अन्य नेताहरुलाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका थिए ।