एमाले नेता नेम्वाङकाे प्रधानमन्त्रीलाई सुझाव- ‘विपक्षीलाई पनि निर्णय प्रक्रियामा समेट्नुस्’

काठमाण्डौ, २६ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरंकुशताविरुद्ध लडेका दलहरुलाई एक ठाउँमा ल्याउन प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा प्रधानमन्त्रीलाई शुभकामना दिँदै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले निरंकुशताविरुद्ध लडेका दलहरुलाई एक ठाउँमा ल्याउन र राष्ट्रलाई एकीकृत गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका हुन् । नेता नेम्वाङले विगतमा निरंकुशताकाविरुद्ध आन्दोलन गरेका दलहरु अहिले छिन्नभिन्न भएको भएको भन्दै प्रधानमन्त्रीले सबैलाई एकताको सुत्रमा बाध्न सक्नुपर्नेमा जोड दिए ।

नेम्वाङले सत्तापक्षले प्रतिपक्षीलाई संविधान संशोधन विधेयकदेखि अन्य विधेयकका बारेमा कुनै परामर्श नै नगरेर बेवास्ता गर्दा यो अवस्था आएको भन्दै आगामी दिनमा सहकार्यमार्फत अघि बढ्न सरकारलाई सुझाव दिए । साथै संविधान कार्यान्वयन र तीनै तहको निर्वाचन गराउनु सरकारको प्रमुख कार्यभार भएकाले त्यसका लागि एमाले सहयोग गर्न तयार रहेको पनि उनले बताए ।