Breaking News

ट्राफिक नियम मिच्ने हरकाेहीलाई कारबाही गर्न विकास समितिको निर्देशन

काठमाण्डौ, जेठ २६ । संसदीय समितिले ट्राफिक नियम पालना नगर्ने अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुलाई समेत कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले ट्राफिक नियम पालना नगर्ने अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुलाई समेत कारबाहीको दायरामा ल्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सरोकारवाला निकायलाई निर्देशन दिएको हो । समितिले अतिविशिष्ट व्यक्तिहरुको सवारी आवागमनको कामलाई सरल बनाउने कार्यविधि तयार पार्न पनि सरकारलाई सचेत गराएको छ ।

समितिले सडक सुरक्षा अभिवृद्धि गर्न संसदले जारी गरेको ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ कार्यान्वयनमा गर्नका लागि समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले सहरी सडक र राजमार्ग निर्माण गर्ने मापदण्ड तय गरी १ महिना भित्र समितिमा पेश गर्न पनि सचेत गराइएको समिति सभापति रविन्द्र अधिकारीले जानकारी दिए ।

बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नियम, कानुनको अभावमा ट्राफिक व्यवस्थापनको काममा समस्या नरहेको बताए । त्यस्तै ट्राफिक महाशाखा प्रमुख मिङमार लामाले ट्राफिक नियम पालना गराउन सक्दो प्रयास गरे पनि त्यसलाई कार्यान्वयनमा आउन नदिने प्रयास हुने गरेको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले पैदल यात्रुलाई ट्राफिक नियम पालना गराउन पूर्वाधार पनि तयार गर्नुपर्नेमा जोड दिएका थिए ।

shares