August 20, 2017

धनगढी प्रिमियर लिगको उपाधि धनगढी टिम चौराहलाई

काठमाण्डौ, ९ वैशाख । धनगढीमा जारी धनगढी प्रिमियर लिगको फाईनल खेलमा धनगढी  टिम चौराहले विराटनगर किंग्सलाई ६२ रनले पाखा लगाउँदै विजेता बनेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको चौराहले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । उसका लागि आरिफ शेषले ५४ रन बनाउँदा ४ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै अर्का खेलाडी अमर रौटेलाले नटआउट ३१ रन बनाए । ४ विकेट गुमाएर ८४ रन बनाएको अवस्थामा इनिङलाई उकास्ने क्रममा आरिफ शेख र अमर रौटेला मिलेर ५ विकेटको लागि ६३ रनको साझेदारी गरेपछि राम्रो योगफल तयार भएको हो ।

विराटनगर किंग्सका लागि सुशिल कँडेलले २ विकेट लिए भने जितेन्द्र मुखिया, सन्दीप लामिछाने र प्रकाश विष्टले समान १–१ विकेट लिए ।

१ सय ६० रनको लक्ष्य पाएर मैदानमा उत्रिएको विराटनगर १८.१ ओभरमा १० विकेट गुमाउँदै ९७ रनमा सीमित भयो । अमित श्रेष्ठले २६ र प्रताप थापा मगरले २७ रन बनाए पनि अरु खेलाडी चल्न नसक्दा विराटनगरले ६२ रनको हार बेहोरेको हो । विराटनगरका ४ खेलाडी शून्य रनमा आउट भएका थिए ।

विराटनगरको इनिङ ध्वस्त पार्ने क्रममा सुसन भारीले ३ विकेट लिए । त्यस्तै आरिफ शेष र सौरभ खनालले समान २–२ विकेट लिए । रामनरेश गिरी र ललित राजवंशीले पनि १–१ विकेट हात पारे ।

जितसँगै धनगढी चौराह टिमले रु १५ लाख पाएको छ । आजको खेलको ‘म्यान अफ द म्याच’ आरिफ शेख भए भने ‘प्लेयर अफ द सिरिज’ विराटनगर किंग्सका सुशिल कँडेल भए ।