प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि पुलिस र आर्मीले संयुक्त रुपमा जिते

काठमाण्डौ, २५ जेठ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीले संयुक्त रुपमा जितेका छन् ।

वर्षाका कारण फाइनल खेल अवरुद्ध हुँदा दुबैले संयुक्त रुपमा जितेका हुन् । १ सय २७ रनको झिनो लक्ष्य पाएको आर्मीले केवल २.३ ओभरमा १ विकेटको क्षतिमा ७ रनमात्र बनाउन पायो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस ४५.१ ओभर खेल्दै १ सय २६ रनमा खुम्चियो । उसका लागि सुनिल धमलाले ३२ र सिद्धान्त लोहनीले २० रन बनाउन बाहेक अरुले खुलेर खेल्न सकेनन् । पुलिसलाई कम स्कोरमा रोक्न जीतेन्द्र मुखियाले ४, सुसन भारीले ३, सागर पुनले २ र सोमपाल कामीले १ विकेट लिए ।

याे सँगै दुबै टिमले संयुक्त रुपमा उपाधि उचालेका छन् ।