August 21, 2017

सप्तरीमा एमालेको चुनावी गतिविधि सुरु

दिनेश शर्मा राजविराज, ९ वैशाख । मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा फागुन २३ गते भएको मलेठ घटनापछि शिथिल देखिएको एमालेले स्थानीय तह निर्वाचनको मिति निजिकिँदै गएपछि सप्तरीमा पुनः चुनाव लक्षित गतिविधि सुरु गरेको छ ।

अभियानकै क्रममा १७ वटै स्थानीय तहमा मेयर–उपमेयर छनोटको क्रम सुरु भएको एमाले जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले बताए । शुक्रबार सम्पन्न नगर भेलाले मेयरमा जितेन्द्रकुमार गुप्ता र उपमेयरमा शोभाकुमारी चौधरीलाई सिफारिस गरेको न्यौपानेले जानकारी दिए ।

यसैगरी, राजविराज नगरपालिकामा मेयरका लागि प्रतापनारायण चौधरी, राजेन्द्र यादव, लालि यादव तथा उपमेयरमा पार्वती राउत र ममता चौधरीको नाम चर्चामा छ । मेयरका दावेदार मध्ये प्रतापनारायण चौधरीलाई मेची–महाकाली अभियानका क्रममा फागुन २२ गते मधेशी मोर्चाका कार्यकर्ताले कालोमोसो दलेपछि एमाले जिल्ला कमिटिका उपसचिव समेत रहेका उनलाई ‘विरयोद्धा’ को सम्मान पनि प्रदान गरिएको थियो ।

यस्तै सप्तकोशी नगरपालिकामा उत्तमकुमार गौतमको नाम मेयरमा लगभग निश्चित भएको छ भने विकल्पमा विरेन्द्र यादवको नाम चर्चामा छ । सुरुङ्गामा रामनारायण चौधरी, हनुमाननगर कंकालिनीमा सोभितलाल यादव, वोदेवरसाईनमा कमाल अहम्मद र मुक्ति साहको नाम मेयरका लागि छानिएकाे छ । साथै डाकनेश्वरी नगरपालिकामा मेयरका लागि शोभानन्द राय, अब्दुल मजिद साकीर, रामलखन मुखिया र कर्णदेव चौधरी प्रतिस्पर्धामा छन् ।

अन्य नगरपालिकाहरुमा पनि अध्यक्ष लगायतका अन्य उमेदवारहरुको नाम पनि टुङ्गो लगाउन प्रयास भइरहेको अध्यक्ष न्यौपानेले जानकारी दिएका छन् । वैशाख १२ गते भित्र एमालेले वडा अध्यक्ष समेतको छिनोफानो गरिसक्ने उनले बताए ।