फाइनलमा धनगढीद्वारा विराटनगर सामु १ सय ६० रनको लक्ष्य प्रस्तुत

काठमाण्डौ, ९ वैशाख । धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनल खेलमा धनगढी टिम चौराहले विराटनगर किंग्सलाई १ सय ६० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको चौराहले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । उसका लागि आरिफ शेषले ५४ रन बनाउँदा ४ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै अर्का खेलाडी अमर रौटेलाले नटआउट ३१ रन बनाए ।

४ विकेट गुमाएर ८४ रन बनाएको अवस्थामा इनिङलाई उकास्ने क्रममा आरिफ शेख र अमर रौटेला मिलेर ५ विकेटको लागि ६३ रनको साझेदारी गरेपछि राम्रो योगफल तयार भएको हो ।

विराटनगर किंग्सका लागि सुशिल कँडेलले २ विकेट लिए भने जितेन्द्र मुखिया, सन्दीप लामिछाने र प्रकाश विष्टले समान १–१ विकेट लिए ।